Wednesday, June 22, 2016

आवाज

“ल म गएँ है त, तिमी नि राम्रो सँग जाऊ । ब–बाई!! टेक केयर” यति भन्दै मैले सिद्धार्थलाई हात हल्लाउँदै मुस्कुराएँ। उसले बाइक घुमायो र मलाई नि हात हल्लाउदै ‘बाई’ गर्यो । म सरासर घरतिर लागेँ । मैले उसलाई चोकमा झारिदिन भनेको थिएँ जहॉबाट मेरो घर यस्तै केही ५० मि. भित्र थियो । बाटोमा खासै उज्यालो थिएन । म मेरो फोनको लाइटको उज्यालोले हिँडिरहेथेँ । मनमा अलिअलि डर पनि थियो । मनमा लाग्यो घरसम्मै छोड्देउ भन्नुपर्ने रै’छ बरु; तर फेरी त्यो केटाको स्पष्टीकरण पनि त निकै राम्रो दिनुपर्थ्यो । ड्याडी, मामु, दाई सबैलाई कहिलेकाहीँ त छिमेकीलाई पनि। थुक्क जिन्दगी! सहयोग लिँदा नि गाह्रो, नलिँदा नि गाह्रो । जसोतसो घर पुगेँ।
डोरबेल बजाएँ। गायत्री मन्त्र बज्यो । त्यसकै तालमा गुनगुनाएँ । अनि सोचेँ, दाईको व्रतबन्ध गर्दा म छोरी मान्छे भएर यो मन्त्र सुन्दापनि पाप लाग्छ भन्नु हुन्थ्यो मामुले । अहिले त यो डोरबेलमा झन् केटीले नै गाइरहिछे त। यसलाई चाहीँ लाग्दो रैन्छ पाप?  मनमनै हाँस उठ्यो । कहिले उँभो लाग्ला खै यो समाज?
“कति ढिला गर्नुभा’ नानी हजुरले, माथि हजुरको ड्याडी रिसाएर खानै नखाई बस्नुभ’को छ” ढोका खोल्दै धनमान काकाले मेरो सातो उडाउने कोसिस गरे ।
“अब के गर्नु त, ‘प्र्याक्टिकल’को लागी पक्नाजोल लग्या थियो, आउँदा आउँदै अबेर भयो काका” हॉस्दै काकालाई भनेँ । काका ढोका बन्द गर्न लाग्नुभयो ।
म बिस्तारै माथि रुममा गएँ। लुगा फेरे अनि ‘हुड्डी’ र ‘ट्रयाक’ लगाएर टि.भी कोठामा गएँ । ड्याडी समाचार हेरिरहनु भाथ्यो ।
“ओहो! सवारी भयो ‘साइबा’को, काँ गइस्या नि हजुर? उतै बस्या भए भै हाल्थ्यो नि?” ड्याडीले मलाई हेर्दै नहेरी आफ्नो रिस शब्द शब्दमा पोख्नु भयो ।
बरु एक चड्कन हान्या भए यति दुख्दैनथ्यो होला, तर शब्दले हानेपछि नराम्रोसँग दुख्दो रहेछ । मेरो मन त रोइसकेको थियो, ऑखामा चैँ आफूलाई कमजोर देखाउने प्रयास गरीनँ ।
“अब कलेजले लग्या त हो, के गर्नु त अनि...” म बोल्दै थिएँ; मामुले साइड्बाट, “ल, ल भयो भोलिदेखि छिटो आउनु तँ, हजुर पनि नकराउनु अब, खाना खान हिँड्नु बरु, आइजो तँ पनि” भनेर झगडा टुङ्ग्याईदिनु भयो ।
ड्याडी फेरी मुरमुरीन थाल्नु भयो, “टाउकोमै टेकान छोरीलाई, पछी देख्लीस्” भन्दै तल भान्सातिर जानुभयो । मामु पछी पछी केहि प्रतिकार नगरी जानुभयो । आखिर किन?
मामु किन ड्याडीसँग प्रतिकार गर्नुहुन्न; शब्द नभएर? बोल्न नसकेर? अहँ, ‘बि.एल.’ गरेको मान्छे बोल्न नसक्ने त कुरै थिएन । त्यसो भए के छोरी मान्छे भएर? कस्तो समाज हो यो, जहॉ पुरुष भए भन्दैमा हरेक कुरा उसैले मात्र जान्ने हुन्छ? हरेक कुरामा उसैको हैकम चल्छ? म भित्रभित्रै जलिसकेको थिए रिसले । तर अहँ बाहिर पोख्न चाहेर पनि सक्दिनथे । खै ऑट नै आउदैनथ्यो जति गरेपनि!
टि.भी. को रिमोट हातमा लिएँ र च्यानल चेन्ज गर्दै गएँ । अचानक ए.भी. न्यूजमा गएर रोकिएँ र फ्ल्यास न्युज पढेँ । ‘काठमाण्डौँ स्थित समयनगरमा एक १६वर्षीय किशोरी आफ्नै हजुरबुबाबाट विगत छ महिनादेखी बलात्कार हुँदै आएको पुष्टी भएको छ।’ मेरो रिसले पराकाष्ठा नाघ्यो। लाग्यो, यस्तैलाई हो डोरीमा झुन्ड्याउनु पर्ने , तर के गर्नु घाँस खान गाह्राले मान्छे बनेकाले देश चलाएपछी । लाचार सरकारप्रति पनि रिस पोखियो ।
“ओइ नानी, खाना खान आइजो भन्या सुनिनस्” तलबाट रिसले भरिएको आवाज आयो । टि. भी. बन्द गरेँ र तल ओर्लिएँ खान । ड्याडीले खाएको भाँडा उठाउँदै हुनुहुन्थ्यो मामु। ‘आफूले खा’को जुठो थाल त आफै माझ्नु नि, अरु भाँडा नमाझे पनि’, दिमागले रिसाउदै सोच्यो, तर बोल्ने आँट कसको?
“ओइ, तातो पानी ल्याइदे त एक गिलास।” माथिबाट आवाज आयो।
अहिले त मामुलाई पनि रिस उठेछ कि क्या हो- ‘आफूलाई यहाँ सत्रवटा कामले बितेको छ, पानी ल्याइदे रे, त्यहाँमाथि भर्खर यहीँबाट गएको मान्छे, दु:ख दिने पनि एउटा सिमा हुन्छ नि।’ तर मलाई थाहा छ ड्याडीले मात्र “ल, ल एकछिन पर्खिनु” मात्र सुन्नुभयो, बाँकी सबै बोलेको त मैले र धनमान काकाले मात्र सुनेका थियौँ ।
“नानी, खाना पस्केर खाँदै गर् है, म यत्ति पानी पुराएर आएर तँलाई कलेजो कलेजो छान्दिउला” मामु यति भन्दै फिल्टरतिर जानुभयो। मैले प्लेटमा अलिकति खाना पस्किएँ र अचार लिन भान्सामा छिरेँ । ‘यी बुढीले पनि कहिल्यै सुख पाउनी भैनन’, मनमनै लाग्यो । खाना खाएँ र ब्रस गरीवरी माथि टि. भी. रुममै गएँ ।
ड्याडी उही १० बजेको समाचार हेर्दै हुनुहुन्थ्यो। “काठमाण्डौँमा आङ् सान सुची आएपछी चैँ यी नेताको घैँटोमा घाम लाग्छ कि, बडा सङ्घर्षशील नारी हुन् यिनी, यस्ता पो नारी त” ड्याडी न्युज हेर्दै आफैँ बोल्दै हुनुहुन्थ्यो। सुची नेपाल भ्रमणका लागी आएको दुई दिन भएको थियो क्यार। अब चाहीँ साँच्चैको रिस उठ्यो। आफ्नी छोरी चाहिँ अलिकति अबेर घर आई भने खाउँला जसरी हेर्ने, अनि त्यही मुखले फेरी अहिले चैँ एउटी छोरीको व्याख्या गर्दै थिए। लाज पनि छैन। सुचीको बाउले पनि उसलाई यस्तै बन्धनमा राखेको भए आज यो स्थानमा उनी आउने थिइनन् भन्ने कुरा यो बुढाको घैँटोमा कैले उदाउला? दिमागमा यस्तै किसिमको सोचले ठाउँ ओगट्यो तर मुखले आफ्नो कर्तव्यबाट वञ्चित हुनुपऱ्यो।
डोरबेल फेरी बज्यो। यो पाली चैँ भजन बज्यो।
“कति ढिला आ’को नि तँ?” मामुको आवाज माथि सम्मै प्रष्ट सुनियो ।
“ह्या… मामु भन्दै” दाइले ‘किन-कराको-होला’को भावले बोल्यो । मामुले ढोका लक गरेको आवाज सुनियो।
“खै, अलि पर सर्।” दाइले छेउमै आएर करायो।
“तँ उता बस्न।” म पनि किन छोड्थेँ।
“यो मेरो ठाउँ हो, तँ उता जा है” दाई रिसाउँदै करायो ।
“नाम लेख्या छ तेरो याँ’?” म झोक्किएँ ।
“उता सर्दे न त, सर्दे भनेपछि” ड्याडीलाई बीचमा बोली हाल्नुपर्यो।
म हारेँ।
दाइले खुच्चिङ्को भावले म तिर हेर्यो । म भित्र आगो सल्किसकेको थियो ।
“ड्याडी छ-सात हजार जति चाहिएको थियो । साथीहरु तीन दिनकोलागी बन्दीपुर जाने रे” दाइले औँला पड्काउदै बोल्यो ।
“ल, ल भोलि दिउँला नि त, तर राम्रोसँग जानु नि” ड्याडीले च्यानल चेन्ज गर्दै उत्तर दिनुभयो ।
अब सल्केको रिसले डढेँलोको रुप लियो । म चैँ राती अबेर भएर कुनै साथीकोमा बस्छु भन्दा चैँ “अहँ, अर्काको घरमा बस्नुपर्दैन” भन्ने, दाइले चैँ साथीहरुसँग तीन दिन सम्म घुम्न जॉदा नि हुने? मेरो रिसले सीमा नाघ्यो। आखिर किन? म चैँ छोरी मान्छे भएर हरेक कुरामा पछाडी नै छोडिनपर्ने, हरेक कुरामा वञ्चित गरिनपर्ने?! के मेरो आफ्नो स्वतन्त्रता भन्ने कुरा सधैँ पिँजडा भित्रै रहन्छ? अहिले बाउले स्वतन्त्रतामा भोटे ताल्चा ठोकेको छ, भोलि बुढोले । के सबै छोरी मान्छेहरु यसरी नै अर्काको कठघरामा रहेर बॉच्नुपर्ने? के हामी आधा संसारको अर्को आधा संसारबिना अस्त्तित्व नै छैन? के छोरी मान्छेको स्वतन्त्र जीवन बॉच्ने कुनै हक नै छैन? यसरी आक्रोशले भरिएको प्रश्नको चाङ लाग्यो तर अहँ न कसैलाई सोधेँ न कसैले आफैँ बुझेरै उत्तर नै दिए। मलाई त्यहॉ बस्नै मन लागेन र उठेर रुममा गएँ अनि नाइट सुट लगाएर ओछ्यानमा पल्टिएँ। यस्तै थुप्रै कुराहरु दिमागमा खेल्दाखेल्दै भुसुक्क निदाइएछ ।
एकाबिहानै ‘नोकिया ट्यून’ले निद्रा खराब गर्दियो । मैले निद्राको तालमै फोन उठाएँ ।
“अँ भन।”
ऊ भन्दै गयो, “ओइ ‘प्र्याक्टिकल’ छ रे, ६:३० मा हिजोकै कलेज पुग्नु पर्छ, तिमी छिटो फ्रेश भएर चोकमा आऊ, म त्यही आउँछु लिन।”
अलि अलि बॉकी रहेको निद्रालेपनि कुलेलाम ठोक्यो । यसो घडी हेरेको ५:५० भैसकेछ। ‘कस्तो दिनमा पढिएछ भने नि यो एम.बी.बी.एस. भन्नि कुरो’ मनमनै सोचेँ। जुरुक्क उठेर कलेज ड्रेस लगाएँ र ब्रस गर्न बाथरुम छिरेँ । कपाल बान्दै तल ओर्लिएँ ।
“मामु ६:३० मा पक्नाजोल पुग्नु छ, म गए है, खाना उतै खान्छु। ड्याडीलाई प्र्याक्टिकल रेछ त्यही भएर गई भन्दिनु है।” म यति भन्दै बाहिर निस्किए।
चोकमा ऊ पर्खिरहेको थियो । यो पुसको चिसो सिरेठोमा बाइकमा जानु भनेको नाङ्गै सगरमाथा चढ्नु जस्तै लागीरह्यो तर के गर्नु कुनै अर्को विकल्प पनि त थिएन ।
कलेज पुग्दा सुरु भैसकेको रै’छ ‘पोष्ट मार्टम’ सम्बन्धी ‘प्र्याक्टिकल’ । दिउँसोभरी, खाना र खाजा खा’को समय बाहेक पुरै समय केस स्टडीमै बित्यो । राती पाँच बजेतिर बल्ल सकियो। जाडोको महिना, रात पर्न त बेर् नै लागेन। एकछिन त कलेजसँग नि रिस उठ्यो, ढिलो गरिदिने पनि सिमा हुन्छ नि!
“ओइ जाऔँ अब” ऊ बाइक लिएर छेवैमा आइपुग्यो ।
“आज घरसम्मै छोड्देउ है” मैले जेसुकै होस् सोचेर भने, आखिरिमा अँध्यारो पनि त निकै भइसकेको थियो । उसले घरअगाडि लगेर छोड्दियो र हिजोको जस्तै “बाई बाई” गर्दै भाग्यो । आज चैँ उसलाई ऑखाले भ्याउन्जेल हेरिनँ । सरासर भित्र पसे ।
धनमान काकाले ढोका उघारिदिनु भयो । म "मामु" भन्दै किचेन तिर छिरेँ। मामु खाना पस्किदिन तल ओर्लिनुभयो । खाना पस्किदै गर्दा मैले सोधेँ, “ड्याडी खोइ त?”
मामुले “कौसीमा” भन्दै छोटो उत्तर दिनु भयो र केही बोल्दै नबोली फेरी माथी नै जानुभयो।
मेरो मनले ढ्याङ्ग्रो ठोक्यो । “कतै देख्नु त भएन ड्याडीले?”
फेरी सोचेँ, देखे के त साथी त हो सिद्धार्थ मेरो । खाइसकेपछी ब्रस गरेर सरासर टि.भी. कोठामा गएँ र यत्तिकै सोफामा बसिरहेँ । ड्याडी पनि त्यहीँ हुनुहुँदो रै’छ । केही पनि भन्नुभएन । मलाई अब चै डर लाग्न थाल्यो । अब धुनचक्र गर्ने भएजस्तो लाग्यो ।
“ड्याडी पैसा। ड्याडी दुई हजार जति थपिदिनु न है, नपुग्ला जस्तै भयो”, दाइ यति भन्दै भित्र छिर्यो ।
दाईले मेरो वास्तै गरेन । ड्याडीले पैसा दिदैँ “ल राम्रोसँग जानु” भन्नुभयो । अब चैँ मलाई पुरापुर शंका लाइसकेको थियो कि केही न केही गडबड छ भनेर ।
“ल म गएँ अहिले, तँ सँग त म फर्केपछि कुरा गरौँला” भन्दै दाइले मलाई झनै अप्ठ्यारो पारिदियो ।
अब चैं मेरो मनमा पक्का पक्की भैसकेको थियो कि पक्कै पनि मलाई देखे यिनका बाउछोराले साथीसँग आ’को । हरे, कस्तो भाग्य रै’छ भने मेरो । बाह्र वर्षा’ पोइ घर आ’को, कुन्नि कस्लाई जरो आ’को भन्या जस्तै भयो । आजै ऊ पहिलोचोटी घरसम्मै पुर्याउन आ’को, आजै देख्न पर्ने यिनीहरुले जस्तो पनि लाग्यो । ‘त्यति हिँडेर आ’को भएपनि त हुन्थ्यो नि म’ भन्ने आत्मग्लानिले पनि सताइरह्यो।
मामु पनि तलबाट आउनुभयो र कोठामा पानी लान भनेर ल्याएको तामाको अङ्खोरा सोफा छेउको टेबलमा राख्नुभयो। ‘ग्लिसिरीन’को बट्टा सोफा मुनिबाट निकालेर खुट्टामा ‘ग्लिसिरीन’ दल्न थाल्नुभयो।
यत्तिकैमा ड्याडी एकचोटी बाथरुम गएर आउनुभयो र म छेउ उभिँदै सोध्नुभयो, “को हो त्यो केटा?” ड्याडीको अनुहारमा रिसले आफ्नो हैकम जमाइसकेको थियो ।
“साथी हो”, मैले आँखा झुकाएर बोलेँ र फेरी भनेँ, “अति राती भैसकेको थियो, अनि त्यही भएर यहीँसम्म पुर्याइदेउ भनेको मैले ।”
“म आउँथे नि लिन, किन दुनियॉका छोरालाई पुर्याइदिन भन्नुपर्यो?” ड्याडीले फेरी अर्को प्रश्न गर्नुभयो ।
“हैन, अब किन दु:ख दिनु भनेर नि ड्याडी।” मैले नम्र हुँदै भने ।
“ए भनेपछि हजुरले हामीलाई दु:ख दिन नखोजिबक्सिएको?” यति त नरम नै भएर भनेको भान हुन्थ्यो तर यसपछि झडङ्ग हुँदै कराउनुभयो, “तँलाई था’छैन हाम्रो खानदानमा यस्तो सब चल्दैन भनेर, हाम्रो इज्जत छैन यहाँ । माटोमा मिलाउन खोज्ने त मेरो इज्जत दुनियाँ केटालाई पुर्याउन ल्याएर? के भनेर मुख देखाउने हामीले भोलि छरछिमेकमा कसैले देख्या रेछ भने? को हो त्यो केटा भनेर सोधे भने मैले के 'साथी रे छोरिको' भन्ने?”
“ड्याडी ऊ मेरो साथी मात्र त हो । त्यहाँमाथि यती राती म कसरी आउँथे भन्नु त आफैँ । बरु उसले सही सलामत घर ल्याइदियो, झन् धन्यवाद भन्नुपर्छ हजुरले उसलाई ।” मलाई था'छैन म कुन आँटले धन्यवाद को कुरा गरिरहेथेँ।
“तँ सिकाउँछेस् अब मलाई कस्लाई के भन्नुपर्छ” भन्दै ड्याडीको हातले पनि मेरो गालालाई धरातल बनाएर बोल्यो- ‘चड्याङ…!'
मामुले हातको ‘ग्लिसिरीन’को चिल्लोको पर्वाह नगरी नै ड्याडीको पाखुरालाई आफूतिर तान्नुभयो र “के गर्या हजुरले, बौलौन त लाग्नुभएन हजुर, उमेर पुगेकी छोरीलाई हात हाल्छन् यसरी?” भन्दै ड्याडीलाई सम्हाल्न खोज्नु भयो
ड्याडी ममीलाई उल्टै हपार्न थाल्नुभयो र “अझ मैले धन्यवाद दिनुपर्ने रे” भन्दै मलाई फेरी अर्को चड्कन लगाउने दुस्साहस गर्न लाग्नुभयो ।
‘ड्याङ्…!’
‘मारी नि कुलङ्गारनीले’ भन्दै ड्याडी आफ्नो हातले पुर्पुरो थिच्न थाल्नुभयो र मामुले रुँदै ड्याडीलाई समात्नुभयो । मेरो हातको तामाको अङ्खोरा भुइँमा खस्यो र आधी बचेको पानी पनि छताछुल्ल भयो । तलबाट धनमान काका पनि कुदेर आए जस्तो लाग्छ । म अर्ध बेहोस जस्ती भएँ र भुइँमा थुचुक्कै बसेँ।
- आयाम फुयाल

No comments:

Post a Comment