म एउटा खोक्रो पाना
ममा छन् अनगिन्ती सपना
मसँग छन् अपार शब्द
तर,
म आफैँ कोरिन सक्दिनँ
म आफै केही बोल्न सक्दिनँ
किनकि म देख्दछु-
‘बुद्धम सरणम गच्छामि’ जप्ने दुर्बुद्ध
सगरमाथाको उचाइ साक्षी राखी देशद्रोहीका अघि लत्राइएका नतमस्तक माथ
जन सभामा धर्म निरपेक्ष बनी
गुम्बा, मस्जिद; चर्च, पशुपतिनाथ जुधाइदिने दैत्य
आङ सान सु चीको तारिफ गरी
आफ्नी छोरिको मार्क्सवादका किताब च्यात्ने राजनैतिक पिशाच
हेलेन र पद्मिनीका पदचाप बुझेसरी
रत्नपार्ककी भिखारी अन्धी माथि गाडिएका योन लिप्सा
दिव्योपदेश कोरिएको भित्तामै अडेस लगाई गरिने भ्रष्टाचार
मिथ्या भाषण भै खेर गएका स्वतन्त्रतासँग साटिएका टाउका
मपाईँत्व छाट्ने पाखण्डी नेता
सत्याग्रहका रिवन काट्ने पूर्वाग्रही
महलमा बसी बनाइएका झुपडी-पिडाका टिपोट
जल बिद्युत् आयोजना हात पार्न लम्कने सुट्केसधारी
सेता नम्बर प्लेटमा गुडेका परिवारजन र इष्टमित्र
गरिबी हटाउन बलिवेदीमा चढाइएका गरिब
सिलिन्डरका अभावले कक्रिएका पेट
दौरा सुरुवाल पहिरिई कथित देशभक्त बनेका सिंहासनका दानव
माघको ठन्डीमा आङ बेर्न नपाएको सडक बालक
कालो पालिस दली चम्काइएका सडक
दुतावास धाएका कर्मठ युवा
र सिद्धान्त मात्रैले अघाएको राजनीति!
तर,
तर साच्चै म चाहन्छु
मेरा यी श्वेत पानामा
‘बसुधैव कुटुम्बकम्’ प्रस्तावनामा कोरियून्
‘परोपकार पुण्याय’ हर धारामा जन्मियून्
‘सेवा ही परमो धर्म’ का उपधारा भेटियून्
टेकुको बकैनामा झुन्डाइएका मेरा चाहना साकार होऊन्
मेरो काधमा कुर्सी हैन देश विकासको कार्यभार बजारियोस्
मलाई मुड्कीले हैन प्रतिबद्धताले हिर्काइयोस्!
-आयाम
(मिती २०७१/११/९मा Ace Higher Secondary Schoolद्वारा आयोजित 'Kaleidoscope 2015- Ace International Festival' अन्तर्गत उपत्यकाव्यापी उच्च माध्यमिक विद्यालयस्तरीय कविता वाचन प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल कविता)
No comments:
Post a Comment