Sunday, December 4, 2016

जडीबुटी

सम्झौताका सूत्रले गाँजिएका
सम्बन्धको कठघरा विस्तार नगरी नै
विश्वासमा टेको लिएको
पृष्ठवंशहीन सम्बन्धको आड बिना नै
म,
कथित मायावी सम्बन्धको भ्रामक
जालोमा रुमलिएर हैन
जालोबाट पन्छिएर
मायाको आभास दिन चाहन्छु!
तिमी कस्तो सम्बन्धको सुरुवात गर्न खोज्दैछौ?
जहाँ आँखा हैन, शब्द बोलोस्?
जहाँ मन हैन, मस्तिष्क मिलोस्?
जहाँ आस्था हैन, सिद्धान्त मौलाओस्?
जहाँ माया हैन, सम्बन्ध फक्रियोस?
वा, जहाँ आँसु हैन, पसिना साटियोस्?
माफ गर साथी,
ती त मात्र जीवन बाँच्ने बहानाहरु हुन्
ती त मात्र समय कटाउने धरोहरहरु हुन्
म समय कटाउन चाहन्न
जीवन बाँच्न पनि चाहन्न
म त समय बिताउन चाहन्छु
अनि जीवन ज्यून!
म सम्बन्ध हैन, मान्छेलाई माया गर्छु
म लगाव हैन, आस्था खोज्छु
म कटाक्ष हैन, विश्वास माग्छु
मलाई कथित सम्बन्ध टुक्रेपछी बचेको बन्धनको विश्वास लाग्छ
मलाई भिन्न भएपछीको बोलिने शब्दले असर गर्छ
र, मलाई छुट्टै-छुट्टै बाँचेपछी गरिने मायाले खुसी पार्छ।
म प्रेमील अक्षर भन्दा नि, तीखा शब्द रुचाउँछु
मायालु कण्ठभन्दा नि, कटुभाषा रोज्छु
म उत्पादन हैन, उत्पत्तिमा विश्वास गर्छु
गुलियो भन्दा नि तितो मन पराउँछु
किनकी मलाई थाहा छ-
जडीबुटी तितो हुन्छ र औषधी गुलियो!
-आयाम फुयाल

1 comment: