Sunday, June 25, 2017

निवर्तमान सम्माननीय प्रधानन्यायाधीश सुशीला कार्कीलाई खुलापत्र

२१ जेठ ०७४ गतेको ‘नेपाल’ म्यागजिनको इपेपर (पृष्ठ २९—३४)मा प्रकाशित आदरणीय पत्रकारद्वय प्रशान्त अर्याल र रामबहादुर रावलले निवर्तमान सम्माननीय प्रधानन्यायाधीश सुशीला कार्कीसँग लिनुभएको अन्तरवार्ता पढ्दा ज्यादै ठुलो बिलखबन्धनमा परेँ। एक मनले निवर्तमान सम्माननीय प्रधानन्यायाधीश सुशीला कार्कीको निडरता देख्दा निकै खुसी लाग्यो, तर अर्को मनले उहाँको कायरता देख्दा ज्यादै दुःख लाग्यो।

निवर्तमान सम्माननीय प्रधानन्यायाधीश सुशीला कार्कीको न्यायिक सक्रियता, भ्रष्ट आचार रहित फैसला र उहाँद्वारा राजनीतिक र संवैधानिक पदाधिकारिका स्वेच्छाचारी गतिविधीमा लगाइएको अंकुश निकै नै प्रशंसनिय र न्यायपूर्ण छ। थुप्रै भ्रष्टाचार विरुद्धका मुद्दाको छिनोफानो, न्यायालयमा हुने गरेको ढिलासुस्तिको न्यूनीकरण, मुलुकका तीन अङ्गबीच हुने गरेको शक्ति सन्तुलनको उपयुक्त अभ्यास, महिला सशक्तिकरणका सम्बन्धमा गरिएका थुप्रै पहल तथा अभियान लगायत नेपालकै पहिलो महिला प्रधानन्यायाधीश निवर्तमान सम्माननीय सुशीला कार्कीले गरेका कार्यहरु नेपाली न्यायालयको क्षेत्रमा कोसेढुङ्गा सावित हुने सफल भएको छ। तर न्यायको पक्ष र भ्रष्ट आचारको विपक्षमा लड्छु भन्ने निवर्तमान सम्माननीय प्रधानन्यायाधीश सुशीला श्रीमानले यस घडीमा आएर ’लोकमान सिंह कार्कीलाई कारवाही नगर्न प्रधानमन्त्रीले दबाब दिनुभयो’ भनेर भन्नु कहाँसम्म न्यायिक र भ्रष्ट आचाररहित हुन्छ? उतिबेलै यो कुरा नभन्ने, अनि अहिले आएर ‘अब त हिँड्ने बेला भयो, खुलेर भन्नुपर्छ यो कुरा’ भनेर माथी उद्धत गरिएको भनाइ भन्नुको सार्थकता के हो श्रीमान? जनताले हजुरबाट यही अपेक्षा राखेका थिए? अहिलेसम्म कसैको पनि दबाब र प्रभावमा नआएको भनिएको तपाईँको कार्यकौशलतामाथी भुतपूर्व प्रधानमन्त्रीको यो दबाबले साँच्चै चुनौती खडा गरेकै हो त? यदि हैन भने तपाईँको आफ्नै कार्यकालमा यो मुद्दाको छिनोफानो किन गर्नुभएन? भुतपूर्व प्रधानमन्त्रीको दबाबमा भने बमोजिम उहाँ सत्तामा बसुन्जेल किन सो मुद्दा रोकियो? एकातिर आफू अहिलेसम्म कसैको पनि दबाब र प्रभावमा नआएको भनेर कुर्लिने अनि अर्कातिर भुतपूर्व प्रधानमन्त्रीको आदेशको घुमाउरो ढङ्गले पालना पनि गर्ने? माफ गर्नुहोला श्रीमान, तर हजुरको यस अन्तरवार्तामा उद्धृत कतिपय भनाइले हजुर साँच्चै मज्जैले ‘लड्नु’ भएको देखियो। मुद्दामा हैन, आफ्नो कार्यकौशलतामा।

यस देशको निवर्तमान सम्माननीय प्रधानन्यायाधीशसँग त भुतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘लबिङ्’ गर्न पछी पर्न हुन्न भने, आगामी दिनमा लोकमानसिंह कार्कीको मुद्दा हेर्ने बेन्चका न्यायाधीशसँग उहाँले ‘लबिङ्’ गर्नु हुन्न भन्ने आधार के छ श्रीमान? तपाईँले चाहेको स्वच्छ न्यायालय यसरी नै निर्माण हुन्छ हो श्रीमान? यदि तपाईँ साँच्चै कसैको पनि दबाब र प्रभावमा नपरेको हो भने लोकमान सिंह कार्कीको मुद्दा पुनरावलोकनका लागी निस्सा दिएपछी तपाईँकै कार्यकालमा त्यो मुद्दा छिनोफानो लाउनुपर्छ कि पर्दैन? जबकी सो मुद्दा राष्ट्रिय सरोकारको विषय भइसकेको थियो र जनता तपाईँकै कार्याकालमा त्यो मुद्दाको निष्पक्ष, न्यायिक र पारदर्शी फैसला सुन्न आतुर थिए। तपाईँको न्यायिक र निष्ठावान प्रवृत्ति लोकमान सिंह कार्कीको मुद्दा छिनोफानो गरेर झल्किन्थ्यो कि अन्तरवार्तामा तत्कालिन प्रधानमन्त्रीले मुद्दा फैसला नगर्न दबाब दिनुभयो भनेर झल्किन्छ श्रीमान?

यसै अन्तरवार्तामा तपाईँले कतै माओवादी नेता वर्षमान पुनले, ‘यो मुद्दामा यो गर्ने, त्यो मुद्दामा यो गर्ने भन्न मिल्छ? मैले सुन्न मिल्छ?’ भनेर आफ्नो कार्यकौशलता उपर जुन निष्ठता र निर्भयता देखाउन खोज्नुभयो, भुतपूर्व प्रधानमन्त्रीको दबाब चाहिँ तपाईँले सुन्न मिल्थ्यो कि मिल्दैनथ्यो श्रीमान? र, अर्को कुरा माओवादी नेता वर्षमान पुनले त्यसो भनेकै हो भने उतिबेलै यो कुरा किन भन्न सक्नुभएन? यही हो तपाईँको कानुन उपरको निर्भिकता?

तपाईँले न्यायपरिषद्को संरचनामा जुन किसिमको राजनीतिक छत्रछायाँ व्याप्त भएको आपत्ती जनाउनुभयो; तपाईँ पनि सोही न्यायपरिषद् बाट नै प्रधानन्यायाधीश नियुक्त हुनुभएको हैन र श्रीमान? तपाईँलाई नियुक्ति दिँदा चाहिँ खै त न्यायिक, निष्पक्ष, स्वतन्त्र र पारदर्शिताको प्रश्न? तपाईंलाई नियुक्ति दिँदा चाहिँ न्यायपरिषद् राजनीतिबाट अभिन्न, अनि अहिले आएर चाहिँ राजनीतीकरण भएको हो र? यसरी ‘पानी माथिको ओभानो’ भएर अभिव्यक्ति दिन मिल्ला र श्रीमान? र, अर्को मुख्य कुरा जब तपाईँ न्यायलयको सर्वोच्च पदमा हुनुहुन्थ्यो र तपाईँलाई त्यसको संरचनामा त्यति आपत्ति नै थियो भने, त्यतिबेला न्यायपरिषद्को संरचना बदल्न वा न्यायपरिषद्लाई पुनस्संरचना गर्न किन कुनै पनि किसिमको कदम चाल्न सक्नुभएन वा चाल्नुभएन?  तपाईँले न्यायपरिषद्को  संरचना पूर्णरुपले बदल्ने आधिकारिकता नपाएतापनि; त्यस भित्र हुने गरेको राजनीतिक चलखेल वा राजनीतिक क्रियाकलाप तोड्न कुनै न कुनै कदम चाल्न त पक्कै पनि सक्नुहुन्थ्यो नि, हैन र श्रीमान?

न्यायपरिषद्को संरचना बदलिन्थ्यो वा बद्लिदैनथ्यो, त्यो पछीको कुरा भयो, त्यसलाई बदल्न तपाईँले केही न केही कदम त चाल्न सक्नुहुन्थ्यो नि हैन? वा, तपाईँ प्रधानन्यायाधीस हुँदा नै जनतालाई न्यायपरिषद्मा हुने राजनीतिक क्रियाकलापका बारेमा प्रष्ट पार्नु तपाईँको नैतिक जिम्मेवारी थियो कि थिएन श्रीमान? तसर्थ, आफ्नो कार्यकालको अन्त्यतिर आएर यस किसिमको जुन जोगी आए नि कानै चिरेको भने जस्तो निरीहता देखाउनुको सार्थकता के श्रीमान?

तपाईँको यसै अन्तरवार्तामा लेखिएको एउटा भनाइ यहाँ उद्धृत गर्न चाहेँ, ‘यिनीहरुको केही पनि चाहिँदैन। पेन्सन नि चाहिँदैन, सुबिधा पनि चाहिँदैन, तर त्यो सबैले गर्न सक्दैनन्। यो तागत सबैमा हुँदैन।’ यो भनाइको प्रतिकात्मकता के हो श्रीमान? आजसम्मकाले त यो काम गर्न सकेनन्, तपाईँ यसो भन्नेले चाहिँ आँट गरेर आफ्नो बोलिको तागत देखाइदिनु न त। अवकाशपछी पाइने सुख, सुबिधा केही नपाएपनि कसरी आफ्नो जिवनयापन गर्नेछु भनेर त यही अन्तरवार्तामा भनिसक्नुभएको छ। सोही अनुरुप चलेर, सरकारको केही पनि सुख सुबिधा नलिनुहोस् न त, आजसम्मका भू।पु। प्रधानन्यायाधीशहरुमा त तपाईँले भनेबमोजिमको त्यो तागत भएन, तपाईँसँग चैँ छ श्रीमान् त्यो तागत? नभए के को उवाच? अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले राष्ट्रबाट वार्षिक १ डलर मात्रै लिनेछु भनेर जुन किसिमको घोषणा गरे, तपाईँपनि सरकारबाट अवकाशपछीौ दिइने कुनै पनि किसिमको सुख सुबिधा नलिई त्यस्तै किसिमको घोषणा गरिदिनुहोस् र तपाईँले माथी भनेबमोजिमको तागत देखाइदिनुहोस् न त, ता कि, भविष्यमा अरु प्रधानन्यायाधीशहरुले पनि सोही अनुरुपको उदारता देखाउन प्रेरणा मिलोस्। आफू पनि त्यो सुख सुबिधा त्याग्न नसक्ने अनि अरुले पनि सोही अनुरूप पाउने सुख सुबिधा लिँदा चाहिँ उक्त सुख सुबिधा त्याग्न सक्ने तागत नै छैन भनेर प्रश्न गर्नु कत्तिको जायज होला र श्रीमान? अरुले नगरेतापनि आफूले त्यो काम गरेर एउटा नयाँ थिती बसालिदिनुहोस् न त, ता’कि तपाईँको यो त्याग र तागतलाई यस अविकसित र आर्थिक रुपले विपन्न हाम्रो राष्ट्रले सदैव सम्झिरहोस्।

तपाईँको यसै अन्तरवार्तामा लेखिएको अर्को एउटा भनाइ पनि यहाँ उद्धृत् गर्न चाहेँ, ‘जुन विश्वासका साथ म यति काम गरुँला भनेर आएकी थिएँ, कामै गर्न पाइनँ। धेरैजसो बाधा, अवरोध मात्र भइरह्यो।’ माफ गर्नुहोला श्रीमान, तर तपाईँलाई भ्रष्टाचार र अन्यायले ग्रसित यस राष्ट्रको न्यायालयको सर्वोच्च पदमा कुनै पनि किसिमको बाधा, अवरोध आउँदैन जस्तो लागेको थियो? यो त फगत् एउटा बहाना मात्रै भएन र श्रीमान? काम गर्न सक्षम नेतृत्वले त विभिन्न बाधा, अवरोध, आरोह, अवरोहका बाबजुद पनि आफ्नो काम गर्छन् नि हैन र? भ्रष्टाचारले उत्पीडित यस राष्ट्रमा न्यायालयको सर्वोच्च पदमा विराजमान हुनुअघी जुनसुकै किसिमको बाधा, अवरोधसँग लड्न तयार छु भन्ने दृढ संकल्प राखेर नै शपथ लिनुभएको हैन र श्रीमान? तसर्थ अहिले आएर बाधा, अवरोधका कारण काम गर्न पाइनँ भन्नु कहाँसम्म जायज र उपयुक्त सुनिएला श्रीमान? थुप्रै बाधा, अवरोधसँग डटेर काम गर्नुमा तपाईँको सक्षमता झल्किन्थ्यो कि आफ्नो कार्यकालको अन्त्यमा आएर विभिन्न बाधा, अवरोधका कारण काम गर्न पाइनँ भन्नुमा झल्किन्छ श्रीमान?

मैले यसो भनिरहँदा म सम्माननिय प्रधानन्यायाधीश सुशीला श्रीमानको आजसम्मको कामकारवाहीको विपक्षमा र भुतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को पक्षमा उभिएँ भन्ने चैँ नबुझियोस्।


–आयाम फुयाल
(https://www.facebook.com/iamaayam1)
B.A.LLB., Second Year, National Law College
Kupondole, Lalitpur

निवर्तमान सम्माननीय प्रधानन्यायाधीश सुशीला कार्कीको अन्तरवार्ता-

http://epaper.ekantipur.com/nepal/2017-06-04/29
http://epaper.ekantipur.com/nepal/2017-06-04/30
http://epaper.ekantipur.com/nepal/2017-06-04/31
http://epaper.ekantipur.com/nepal/2017-06-04/32
http://epaper.ekantipur.com/nepal/2017-06-04/33
http://epaper.ekantipur.com/nepal/2017-06-04/34

No comments:

Post a Comment