Monday, October 3, 2016

कुमारी बैंकलाई विनम्र आग्रह

नेपाल सरकारले वितरण गर्दै आइरहेको बृद्धभत्ताको रकम आगामी दिनमा बैंकमार्फत उपलब्ध गराउने भन्ने खबर सुन्दा असाध्यै राम्रो लाग्यो। एक त, सबै बृद्ध/बृद्धाले आफ्नो भत्ता आफूलाई सजिलो हुने समयमा झिक्न सक्ने भए; अर्को आफ्नो भत्ताको हिनामिना हुन पाएन। यसै शिलशिलामा म पनि हजुरआमालाई लिएर थलीस्थित कुमारी बैंकमा हजुरआमाको उक्त खाता खोल्न पुगेँ। जब बैंक भित्र प्रवेश गरेँ, तब ज्यादै दुःख लाग्यो। ६० देखी ८५ वर्षसम्मका आदरणीय बुबा/आमाहरू स्वाँ/स्वाँ गर्दै लाइनमा उभिएको देख्दा ह्रृदय कटक्क काटियो। दिमागमा यही मात्र खेल्यो कि- ८० पुग्नुभएकी हजुरआमालाई अब कहाँ बसाऊँ?! बृद्धभत्ता खाता खोल्न आउनुभएका आदरणीय बृद्ध/बृद्धा बस्नका लागी पर्याप्त मेच/कुर्सीको जिम्मेवारी लिन नसक्ने भए बृद्धभत्ता वितरणको जिम्मेवारी पनि नलिए हुन्छ! खाता खोल्न आउनुभएका उभिन नसक्ने, अशक्त बृद्ध/बृद्धा हुन्; न कि जोसिला कुमार/कुमारी! तसर्थ म आज थलीस्थित कुमारी बैंकमा भेटिएका सम्पूर्ण आदरणीय बुबा/आमाका तर्फबाट देशभरिका कुमारी बैंकका समस्त पदाधिकारीहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु कि बृद्धभत्ता खाता खोल्न आउनुभएका सम्पूर्ण बृद्ध/बृद्धाहरूलाई लाइनमा लाग्दा बस्नका निमित्त पर्याप्त मेच/कुर्सीको व्यवस्था गरिदिनुहोला। ती विचरा ६०/७० नाघेका बुढा आमा/बुबा लाइनमा घण्टौँ उभिन बिल्कुलै सक्नुहुन्न। भाडामा मेच/कुर्सी ल्याएर हुन्छ कि किनेरै ल्याएर हुन्छ, ती आदरणीय आमा/बुबाको बस्ने चाँजोपाँजो मिलाउनु बैंकको परम कर्तव्य हो। देशले यत्रो ठूलो जिम्मेवारी सुम्पेको यस प्रतिष्ठित कुमारी बैंकले कार्य जिम्मेवारीका साथसाथै आफ्नो नैतिक जिम्मेवारी पनि बहन गर्नु अत्यावश्यक छ। साथसाथै, आगामी दिनमा बैंकले बृद्धभत्ता उपलब्ध गराउँदा बैंकसम्म आउन नसक्ने सम्पूर्ण बृद्ध/बृद्धाको उहाँहरूले नै तोके बमोजिमको व्यक्तिलाई संरक्षकका रुपमा राखी र संरक्षकको समेत विस्तृत जानकारी राखी सोही संरक्षकलाई नै भत्ता उपलब्ध गराइदिई बृद्ध/बृद्धालाई दुःख नदिन नेपालभित्रका सम्पुर्ण बृद्ध/बृद्धाका तर्फबाट म विनम्र आग्रह गर्दछु।
-आयाम फुयाल
मुल्पानी-८, काठमाडौं

No comments:

Post a Comment